क्रोएसियाको शक्ति अझै यथावत्

Spread the love
49 Views

रुसमाथि पेनाल्टी सुटआउटमा जित हात पार्दाको खुसी शब्दमा बयान गर्न नसकिएको क्रोएसियाका कप्तान लुका मोडरिचले बताएका छन् । शनिबार क्रोएसियाले रुसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्ल्यान्डसँगको सेमिफाइनल तय गरेको हो ।

 

सोचीमा इभान राकिटिजले विजयी पेनाल्टी गोल गर्नु अगाडि अन्तिम क्वाटरफाइनल खेल अतिरिक्त समयपछि २–२ को बराबरीमा टुंगिएको थियो । ब्राजिलमा जन्मिएका मारियो फर्नान्डेजले १ सय १५ औं मिनेटमा हेडबाट गोल गर्दा रुसको आशा ब्युँतिएको थियो, जसले खेल पेनाल्टी सुटआउटमा पुर्‍याएको थियो । तर पेनाल्टी सुटआउटमा रुसबाट उनले र फेडोर स्मोलोभले गोल गर्न नसक्दा क्रोएसियाले ४–३ ले बाजी मार्‍यो ।

 

डेनिस चेरिसेभको सानदार गोलमा रुसले अग्रता लिएको थियो । आन्द्रे क्रामारिचको गोलमा क्रोएसियाले ८ मिनेटपश्चात अर्थात ३९ औं मिनेटमै खेल बराबरीमा ल्याएको थियो । त्यसपछि निर्धारित ९० मिनेटको खेलले स्पष्ट नतिजा ल्याउन सकेन । थप ३० मिनेटको खेलको १० औं मिनेटमा डोमागोज भिडाले गोल गर्दा क्रोएसिया विजयतर्फ अग्रसर भएको थियो । खेल समाप्त हुन ५ मिनेट अगाडि फर्नान्डेजले गोल गरी खेल पेनाल्टीमा धकेले ।

 

अन्तिम १६ को खेल पनि क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमै पराजित गरेको थियो । क्रोएसिया २० वर्षपछि सेमिफाइनल पुगेको हो । १९९८ मा पहिलोपटक विश्वकप खेल्नेक्रममा क्रोएसिया सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो । क्रोएसियाले बुधबार हुने सेमिफाइनलमा इंग्ल्यान्डसँग खेल्नेछ ।

 

‘एउटा निश्चित अवस्थामा हामीमा शक्ति देखिएको थिएन । तर हामीले ६ दिनमा दुईपटक १ सय २० मिनेटको खेल खेलेका छौं,’ मोडरिचले भने, ‘यसले पक्कै पनि असर पर्न सक्छ । यसले नकारात्मक असर पार्न सक्छ । हामीले कठिन बाटो रोज्यौं होला, तर पुन: सेमिफाइनल पुग्दा हामी निकै खुसी छौं । हामी सेमिफाइनलभन्दा पनि अगाडि बढ्न सक्छौं ।’

खेल समाप्तिमा क्रोएसियाका प्रशिक्षक ज्लाटा डालिकका आँखा आँसुले भिजेका थिए । रुसको हकमा यो हृदयाघात जस्तो नै थियो । तर घरेलु राष्ट्रले यसैमा गर्व गर्न सक्छ । किनभने प्रतियोगिता सुरु हुनु अगाडि रुसबारे खासै ठूलो अपेक्षा गरिएको थिएन । ‘हामीले आफैंलाई प्रमाणित गर्न खोजेका थियौं,’ रुसका प्रशिक्षक स्टानिस्लाभ चेर्चेस्लोभले भने, ‘पूरै देश हामीसँग प्रेममा छ, उनीहरूलाई रुसको राष्ट्रिय टोलीको महत्त्व के हो थाहा छ ।’

अघिल्लो चरणमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गरेको रुस तत्कालीन सोभियत संघ अस्तित्वयता सेमिफाइनलमा पुगेको छैन । तर खेलमा क्रोएसिया नै दाबेदार थियो, त्यहीअनुसारको दबादबा टोलीले खेलमा जमाएको थियो । ‘क्रोएसियाका लागि सेमिफाइनलमा पुग्नु ठूलो सफलता हो,’ प्रशिक्षक डालिकले भने, ‘इंग्ल्यान्डका लागि हामीसँग अझै केही शक्ति सञ्चित छ । हामी यहीं रोकिन चाहँदैनौं ।’

Kantipur daily

Leave a Reply

Your email address will not be published. Required fields are marked *