सकियो यो सिजनको प्रिमियर लिग : कसैको उत्साह, कसैलाई निराशा

Spread the love
60 Views

३१ वैशाख, २०७५, काठमाडौं । यो सिजनको इंग्लिस पि्रमियर लिग फुटबल सकिएको छ । लिगको अन्तिम दिन आइतबार राति पनि केही रोचक घटनाहरु भए ।

गार्डिओलालाको जादुयी क्षमता, म्यानचेस्टर सिटीको कीर्तिमान, मोहम्मद सलाहको गोल कीर्तिमान, साविक विजेता चेल्सीको पराजय, तीन टिमको निराशा जस्ता कुराले यो सिजन प्रिमियर लिग अन्तिमसम्म रोचक बन्यो ।

सिजनको ३८ औँ खेल आइतबार राति सकिएको हो । उत्साह र निराशाका बीच केही टिमका लागि अर्को वर्षको चुनौती थपियो । १७ टिमले आउँदो सिजनको योजना बलियो बनाए पनि तीन टिम भने निराश हुँदै रेलिगेसनमा परे ।

निराश चेल्सी

गएको वर्षको विजेता चेल्सी यो सिजन निराश बन्यो । चेल्सी अन्तिम खेलमा न्युक्यासलसँग ३-० ले पराजित हुँदै अन्तिम चारभित्र पनि पर्न सकेन ।

अवे मैदानमा भएको अन्तिम खेलमा चेल्सीलाई हराउन न्युक्यासलका एयोजी पेरेजले दुई तथा डविग्थ गेलीले एक गोल गरे ।

गएको केही महिनादेखि प्रशिक्षक एन्टोनियो कोन्टेको भूमिकामा प्रश्न उठिरहेका बेला अन्तिम खेलको पराजयको जिम्मेवारी पनि उनैले लिएका छन् ।

लिभरपुलले ब्राइटनलाई हराउँदै चौथो स्थान पक्का गर्दै च्याम्पियन्स लिगको सहभागिता सुनिश्चित गर्दा चेल्सी पाँचौँ स्थानमा रहन बाध्य भयो । अन्तिम खेलपछि चेल्सीको ७० तथा लिभरपुलको ७५ अंक रहृयो । सिजनमा दुवैले २१/२१ खेल जितेपनि लिभरपुलले १२ खेलमा बराबरी गर्‍यो । चेल्सीले ७ खेलमा बराबरी गर्‍यो ।

गार्डिओला र सीटीको कीर्तिमान 

पेप गार्डिओलाको प्रशिक्षणमा म्यानचेस्टर सिटीले पि्रमियर लिगको उपाधि मात्र उचालेन, गोलको कीर्तिमान समेत बनायो । गएको सिजन कमजोर देखिए पनि यो सिजन गार्डिओलाले आफूलाई प्रमाणित गरे ।

सिटीले प्रिमियर लिगकै इतिहासमा १०० अंक पुर्‍याउने कीर्तिमान बनायो । अन्तिम खेलअघि ९७ अंकमा रहेको म्यानचेस्टर सिटीका लागि साउथहृयाम्पटनसँगको खेलमा इन्जुरी समयमा गोल गर्दै गाबि्रएल जिससले कीर्तिमान छुन पर्याप्त ३ अंक जोडे ।

गएको सिजन गार्डिओलाले पि्रमियर लिग बुझ्न समय लागेको बताएका थिए । नभन्दै उनले यसरी बुझे कि कीर्तिमानी जित नै दिलाए ।

सिटीले सिजनका ३८ खेलमा ५० अंक घरेलु मैदानमा भएका खेलबाट र बाँकी ५० अंक अवे मैदानबाट भएको खेलमा जोडेको हो ।
‘यो कीर्तिमान तोडिन सक्छ । तर, सजिलो भने छैन’ खेलपछि गार्डिओलाले भने ।

सलाहले पाउने भए गोल्डेन बुट

प्रिमियर लिगको यस सिजनमा सर्वाधिक गोलकर्ता बनेका लिभरपुलका मोहम्मद सलाहले गोल्डेन बुट पाउने पक्का भएको छ । उनले प्रिमियर लिग इतिहासमै एउटै सिजनमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाए ।

आइतबार राति ब्राइटनसँगको खेलमा ४-० को जित दिलाउने क्रममा २६ औं मिनेटमा सुरुवाती गोल सलाहले गरे । जुन उनको कीर्तिमानी ३२ औं गोल थियो ।

एलन शिएररले ब्ल्याकबर्नका लागि सन् १९९४/९५ तथा न्युक्यासलका एण्डी कोलीले सन् १९९३/९४ को सिजनमा ३४ गोल गरेर लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । तर त्यो बेला लिगमा ४२ खेल हुन्थ्यो । अहिले ३८ खेल ।

साथै क्रिष्टियानो रोनाल्डोले सन् २००७/०८ को सिजनमा म्यानचेस्टर युनाइटेडबाट र २०१३/१४ को सिजनमा लुइस स्वारेजले लिभरपुलबाट समान ३१/३१ गोल गरेका थिए । सलाहले रोनाल्डो र स्वारेजलाई पनि पछि पारे ।

उनले लिभरपुलका लागि अहिलेसम्म यो सिजन सबै प्रतियोगितामा गरेर ५१ खेलमा ४४ गोल गरेका छन् ।

वेंगरको बिदाइ

आर्सनललाई झण्डै २२ वर्षदेखि सम्हालिरहेका प्रशिक्षक आर्सेन वेंगरले यो सिजन अन्तिम बन्यो ।

उनले अन्तिम पटक दुई वर्षका लागि गरेको सम्झौताको एक वर्ष पूरा हुँदै आर्सनल छाड्ने निर्णय गरेका हुन् । यो सिजन आर्सनल ६३ अंकसहित छैठौँ स्थानमा रहृयो ।

फ्रान्सका ६८ वर्षे वेंगरले आर्सनललाई तीन प्रिमियर लिग उपाधि, ७ एफए कप जिताएका छन् । उनले आइतबार राति भएको अन्तिम खेलमा पनि टिमलाई जित दिलाए । आर्सनलले अन्तिम खेलमा हडर्सफिल्डलाई १-० ले हरायो ।

प्रिमियर लिगमा जाँदाजाँदै आर्सेन वेंगरले एक कीर्तिमान बनाए । फरक फरक मैदानमा धेरै खेल जित्ने कीर्तिमान उनको नाममा रहृयो । उनले विभिन्न ४८ मैदानमा जित दिलाएका छन् । उनी पछि सर एलेक्स फर्गुसनले विभिन्न ४७ मैदानमा जितेका थिए ।

तीन टिम जुन घटुवामा परे

उपाधि र कीर्तिमानमा केही टिम रमाइरहेका बेला तीन टिम भने प्रिमियर लिगबाटै बाहिरिनुपर्दाको दुःखमा छन् ।

यो सिजन वेष्ट ब्रोम, स्टोक सिटी र स्वान्सी सिटी च्याम्पियनसीपमा घटुवा भए । अब उनीहरुले पि्रमियर लिगमा बढुवा हुन एक वर्ष संघर्ष गर्नुपर्नेछ ।

स्वान्सी सिटीको ८ जित र ९ बराबरीसहित ३३ अंक, स्टोक सिटीको ७ जित र १२ बराबरीसहित ३३ अंक र वेस्ट ब्रुमको ६ जित र १३ बराबरीसहित ३१ अंक रहृयो ।

सिजनको टप १० स्कोरर

मोहम्मद सलाह (लिभरपुल) – ३२
हृयारी केन (टोटनहृयाम) – ३०
सर्जियो अग्युरो (म्यानचेस्टर सिटी) – २१
जेमी भार्डी (लेस्टर सिटी) – २०
रहिम स्टर्लिङ (म्यानचेस्टर सिटी) – १८
रोमेलु लुकाकु (म्यानचेस्टर युनाइटेड) – १६
रोबर्टो फर्मिनो (लिभरपुल) – १५
अलेक्जेण्डर ल्याकाज्टे (आर्सनल) – १४
गार्बियल जिसस (म्यानचेस्टर सिटी) – १३
इडन हाजार्ड (चेल्सी) -१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *